काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संघीय संसदको प्रतिनिधि सभा बैठकमा गर्ने पूर्वनिर्धारित सम्बोधन स्थगित गरेका छन् ।
संघीय संसद अधिवेशनको सुरुआतको अवसरमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर, प्रमुख विपक्षी दलका नेता र अन्य शीर्ष नेताहरू अनुपस्थित हुने भएपछि उक्त कार्यक्रम स्थगित गरिएको हो ।
नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेताहरूको उपस्थिति नहुने भएपछि सम्बोधन स्थगित गर्ने निर्णय गरेको जानकारी दिए । "प्रधानमन्त्रीले भन्नुभएको छ, प्रमुख प्रतिपक्षी नेता बैठकमा आउन नसक्ने हो भने म बोल्दिनँ, अर्को दिन बोल्छु," बर्तौलाले भने ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा आयोजित भूकम्प स्मृति कार्यक्रममा सहभागी हुन बिहीबारै त्यहाँ गएका छन् ।
यस्तै, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि थाइल्याण्डमा छन् ।
बर्तौलाका अनुसार प्रधानमन्त्री संसदमा बोल्ने बेला प्रतिपक्षी दलका नेता उपस्थित हुनुपर्ने परम्परा रहेकोले सम्बोधन अर्को दिनका लागि सारिएको हो ।