रौतहट । रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा १४ वर्षीय बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
वृन्दावन नगरपालिका–७ का सुरुज राय यादवका छोरा कृष्ण प्रसाद यादव पाँच दिनदेखि हराइरहेका थिए। उनकाे शव शुक्रबार बिहान ९ बजे पानीमा घोप्टो अवस्थामा फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार बालकको पेट र कञ्चटमा गहिरो चोट रहेकाे र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको आशंका गरिएको छ । शव गलेर कीरा लागेको अवस्थामा भेटिएको र पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ ।
बैशाख ६ गते बेलुकी बिर्ता गाउँ जाने भन्दै घरबाट मोटरसाइकलमा निस्केका कृष्ण तीन दिनसम्म फर्किएनन्। त्यसपछि उनका अभिभावकले खोजतलासको लागि प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।