कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तराई–मधेस जागरण अभियान अन्तर्गत करिब एक करोड नागरिकसँग प्रत्यक्ष संवाद भएको दाबी गर्नुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अभियान समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानले पार्टी र जनताको सम्बन्ध मजबुत बनाएको बताउनुभयो । उहाँले यो अभियान देशको स्वाधीनता, अखण्डता र सीमा सुरक्षाका सवालमा समेत प्रभावकारी रहेको दाबी गर्नुभयो ।
दाहालका अनुसार हुलाकी सडकखण्ड हुँदै गरिएको अभियानले सीमावर्ती क्षेत्रका समस्या, सीमान्तीकृत समुदाय, शहीद तथा बेपत्ता परिवार, किसान, विपन्न वर्ग र उद्योगी–व्यवसायीका आवाज सुन्ने अवसर दिएको छ ।
उहाँले अभियानबाट प्राप्त सन्देश पार्टीको भावी योजनामा समेटिने जानकारी दिनुभयो । झापाको कचनकवलबाट गत फागुन १२ गते सुरू भएको अभियान तराई–मधेसका विभिन्न जिल्ला हुँदै सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुंगिएको हो ।