काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले श्रमिकहरूको श्रमको सम्मान गर्न र उनीहरूको आत्मसम्मान उच्च बनाउने न्यायपूर्ण र समतामूलक राज्य निर्माणका लागि संघर्ष जारी राख्ने बताएका छन् ।
श्रमिक दिवसको अवसरमा बिहिबार एक विज्ञप्ति जारी गर्दै उनले देशको परिवर्तनमा श्रमिक वर्गको ठूलो योगदान रहेको भएता पनि परिवर्तनका लागि भएका आन्दोलन पश्चात श्रमिकहरूलाई ठगिएको टिप्पणी गरे ।
अध्यक्ष महतोले भने, ‘नेपालमा पनि श्रमिक आन्दोलनको इतिहास लामो र गौरवपूर्ण छ । राणा कालदेखि पञ्चायत विरुद्धको पहिलो जनआन्दोलन, माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलनमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न श्रमिक वर्गको सक्रिय भूमिका थियो । तर ती आन्दोलन पश्चात हरेक पटक श्रमिकहरू झुठा आश्वासनमा ठगिएका छन् ।’
उनले अहिलेका श्रमिकहरूको स्थितिलाई सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा पनि शोषणको दुष्चक्रमा फस्ने अवस्थामा रहेको बताए । साथै, सम्पूर्ण स्वदेशी मजदुरहरूलाई राष्ट्रिय मुक्ति क्रान्तिको माध्यमबाट राज्यधारी सभ्रान्त वर्गका विरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिए ।