काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणात्मक परिवर्तनको अवसर गुमाएको बताएका छन् ।
संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रम निरन्तरतामै सीमित भएको टिप्पणी गरे ।
‘गुणात्मक महत्वका परिवर्तनको अपेक्षा थियो, तर यस्तो केही आएन,’ उनले भने, ‘अहिलेलाई त्यो पर्याप्त छैन, अब बजेटमा के आउँछ, त्यो हेर्न बाँकी छ ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले जेनजी (Gen Z) र स्टार्टअपका विषय समेटिए पनि त्यसलाई कार्यान्वयन कसरी गरिन्छ भन्नेप्रति चासो देखाए। साथै, वैज्ञानिक भूमिसुधारको विषयलाई नीति कार्यक्रममा समावेश नगरेर सरकारले कृषिप्रधान अर्थतन्त्रप्रति जिम्मेवारी देखाउन नसकेको उल्लेख गरे ।
‘वैज्ञानिक भूमिसुधार हाम्रो संविधानमै उल्लेख छ, त्यसलाई प्राथमिकतामा राखिएको भए जनतामा आशा जगाउनेथियो,’ उनले भने ।
भट्टराईले दुई अंकको आर्थिक वृद्धि दर हासिल गर्ने रणनीति नल्याएकोप्रति पनि असन्तुष्टि जनाए ।
‘त्यो भनिएको भए अर्थतन्त्रको रुपान्तरणप्रति विश्वास हुनेथियो,’ उनले थपे, ‘भ्रष्टाचार नियन्त्रण र सुशासन सुधार गर्ने बलियो नीति पनि देखिएन ।’