शान्ति र करुणाका सन्देशवाहक भगवान् गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको अवसरमा वीरगंजमा एक भव्य धार्मिक कार्यक्रम सम्पन्न भएको छ ।
त्रिसंयोग (बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको) को विशेष अवसर पारेर वीरगंज बौद्ध समितीको आयोजनामा उक्त कार्यक्रम वैशाख पूर्णिमाको दिन आयोजना गरिएको हो ।
कार्यक्रमका क्रममा वीरगंजको भिस्वा बुद्ध विहार तथा अन्य बौद्ध स्थलहरूमा लामागुरुहरूले विशेष पूजा, ध्यान र मन्त्रोच्चारण गरे । स्थानीय बौद्ध अनुयायीहरू लगायत सर्वसाधारणको उल्लेखनीय सहभागितामा विहारमा बिहानैदेखि भक्तजनहरूको ओइरो लागेको थियो। बौद्ध परम्परा अनुसार श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा समितिले निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गरेको थियो, जसमा दर्जनौं स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरे । वीरगंजका केही निजी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।
साँझ ६ बजे दीप प्रज्वलन गरी विश्व शान्तिको कामनासहित ध्यान र मन्त्रपाठ गरिएको थियो। दीप प्रज्वलनसँगै बुद्धको शिक्षालाई आत्मसात् गर्दै सबैले मैत्री, करुणा र अहिंसाको मार्गमा हिँड्ने संकल्प गरेका थिए ।
यसअघि बिहान ७ बजे माईस्थान मन्दिर परिसरबाट सुरु भएको प्रभातफेरीले घण्टाघर, लिंकरोड, बसपार्क, ४० फिटा रोड, कृष्ण प्रणामी मार्ग हुँदै भिस्वा बुद्ध विहारमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा गौतम माध्यमिक विद्यालयलगायत वीरगंजका विभिन्न शैक्षिक संस्थाहरू, धार्मिक संघसंस्था, सामाजिक अभियन्ता र बौद्ध अनुयायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम वीरगंज बौद्ध समितीका अध्यक्ष प्रा.डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको हो भने समितीका महासचिव अधिवक्ता सुन्दर श्रेष्ठले त्रिसंयोगको अवसरमा यस पटकको कार्यक्रमलाई विशेष र विस्तारित ढंगले आयोजना गरिएको जानकारी दिए ।