बाराको कलैयामा रहेको प्रादेशिक अस्पताल परिसरमा निर्माण गरिएको ब्लड बैंक भवनको उद्घाटन नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बुधबार सम्पन्न गरेका छन् ।
उनले नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको भन्दै चिकित्सकहरूलाई सेवामा कुनै कमजोरी नगर्न निर्देशन दिए ।
उनले नयाँ ब्लड बैंकबाट बारा, पर्सा, रौतहट लगायतका जिल्लाका बिरामीहरूलाई सहज रूपमा रगत आपूर्ति हुने विश्वास व्यक्त गरे । छाया नेपाल संस्थाको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा झण्डै एक करोड १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा ब्लड बैंकको साँचो छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईलाई हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा उपराष्ट्रपति यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता लगायत ३० जनाले रक्तदान समेत गरेका थिए । कार्यक्रममा बारा ४ का प्रतिनिधिसभा सदस्य किशान श्रेष्ठ, मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधन महतो, संविधानसभा सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरका मेयर विनोद साह लगायतको उपस्थिति रहेको थियो ।
पूर्वमन्त्री तथा सांसद ज्वाला कुमारी साहले गढीमाई मन्दिर, सिम्रौनगढ दरबार लगायतको संरक्षण गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग गरिन् । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष छठु प्रसाद यादव र अस्पतालका चिकित्सकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको स्वागत डा. अजयकुमार गुप्ताले र सञ्चालन सञ्चारकर्मी लक्ष्मी खरेलले गरेका थिए ।
भिडियाे सामाग्री