जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, समृद्धि नेपाल र व्यवस्थित वीरगंज अभियानको संयुक्त आयोजना तथा वीरगंज महानगरपालिका वडा नं. २ को सहयोगमा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम छपकैया चोकमा सम्पन्न भएको छ ।
"समुदायमै पुगेर ट्राफिक चेतना फैलाऔं" भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा सयौं स्थानीय बासिन्दा, महिला, वृद्धवृद्धा, बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीलाई ट्राफिक नियमको महत्वबारे जानकारी दिन दुर्घटनासम्बन्धी वृत्तचित्र र शैक्षिक भिडियोहरू प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका संयोजक तथा व्यवस्थित वीरगंज अभियानका अगुवा दिलिप राज कार्कीले सडक दुर्घटनाको मुख्य कारण नियमको उल्लंघन भएको उल्लेख गर्दै यस्ता कार्यक्रम समुदायमै पुगेर सञ्चालन गर्नाले सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । उनले भने, "रोगभन्दा पनि ट्राफिक नियम पालना नगर्दा धेरैको ज्यान गइरहेको छ, त्यसैले स्थानीय तहमा सचेतना अभियान आवश्यक छ ।"
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.नि. लोकराज भट्टले जनसहभागितासहितको यस्तो अभियानले दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि प्रहरी समुदायमै पुग्ने प्रतिवद्धता व्यक्त गरे ।
वडा नं. २ का अध्यक्ष रेयाज अन्सारीले ट्राफिक शिक्षा युवाहरूका लागि विशेष महत्वको रहेको भन्दै अभियानले सकारात्मक सोचको विकासमा मद्दत गर्ने बताए । उनले भने, “सडक सुरक्षाको सवाल केवल ट्राफिक प्रहरीको मात्र नभई हामी सबैको साझा जिम्मेवारी हो ।”
कार्यक्रमका सह–आयोजक समृद्धि नेपालका अध्यक्ष सुरज सर्राफले यो कार्यक्रमलाई पर्सा जिल्लाका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए । “सचेत नागरिक नै सुरक्षित समाजको आधार हो,” सर्राफले भने ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बीर्ताका प्रमुख नि.प्र. निरोज चौलागाईं, वीरगंज महानगरपालिका वडा नं. ३ का अध्यक्ष बैजुलाल स्वर्णकार, स्वास्थ्यकर्मी महेश धामी, राष्ट्रिय समाचार समिति (रा.स.स.) का प्रमुख हिमाल लम्साल, पत्रकार सुस्मिता यादव, विभिन्न सञ्चारकर्मी, सुरक्षा निकाय, स्थानीय संघसंस्था प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
स्थानीय नागरिकहरूले यस्ता कार्यक्रमले आफूहरूमा नियमबद्ध यात्राको चेतना बढाउने प्रतिक्रिया दिएका छन् । कार्यक्रमपछि स्थानीय बालबालिका र वृद्धवृद्धालाई ट्राफिक चिन्ह र नियम सम्बन्धी जानकारीसमेत दिइएको थियो ।
वीरगंज महानगरपालिकाको "सफा, सुरक्षित र व्यवस्थित वीरगंज" निर्माणको अभियानलाई सघाउने उद्देश्यले यस्तो कार्यक्रमहरू थप सघन रूपमा सञ्चालन गरिने आयोजकले जनाएका छन् ।