वीरगंज महानगरपालिकाको चालू आर्थिक वर्षको राजस्व सङ्कलन अघिल्लो वर्षको तुलनामा केही बढेको देखिए पनि, राजस्व लक्ष्य भने पूरा नहुने प्रष्ट सङ्केत देखिएको छ ।
राजस्व महाशाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७९/८० को वैशाख महिनासम्म वीरगंज महानगरपालिकाले कुल रु ४१ करोड ४६ लाख ४६ हजार ५४२ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ३९ करोड ८० लाख ३४ हजार ११९ मात्र राजस्व उठाइएको थियो ।
राजस्व महाशाखाका प्रमुख मनोज कर्णका अनुसार वैशाख महिनामा मात्रै रु ४ करोड १३ लाख १७ हजार १६५ राजस्व सङ्कलन गरिएको हो । यो अघिल्लो आवको वैशाखमा सङ्कलन भएको रु ३ करोड ४ लाख १२ हजार ७२१ भन्दा करिब एक करोड बढी हो ।
तर, चालू आवको प्रारम्भिक नगरसभाबाट महानगरले रु ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पछि समीक्षा नगरसभाले त्यसलाई बढाएर ९५ करोड पुर्याएको थियो । यस्तै अघिल्लो वर्ष पनि लक्ष्य बढाइएको थियो तर अन्त्यमा जम्मा रु ६१ करोड ५० लाख हाराहारी मात्र सङ्कलन हुन सकेको थियो ।
यस वर्ष पनि दस महिना बितिसक्दा जम्मा ४१ करोड ४६ लाख मात्र उठेको सन्दर्भमा बाँकी दुई महिनामा झण्डै ५३ करोड राजस्व उठाउने सम्भावना न्यून रहेको संकेत देखिएको छ । राजस्व वृद्धिको दर सकारात्मक भए पनि अनुमानित लक्ष्यसँग मेल नखाने अवस्था चिन्ताजनक मानिएको छ ।
महानगरपालिकाले स्रोत परिचालनमा सुधार, करदाताको पहुँच अभिवृद्धि, प्रभावकारी संकलन प्रणाली जस्ता पहलका बाबजुद पनि राजस्व लक्ष्य भेट्न चुनौती कायमै रहेको छ ।