त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमार्फत गृहमन्त्रालयकै मिलोमतोमा भिजिट भिसामा विदेश पठाउने नाममा दैनिक ५० लाख रुपैयाँसम्म असुली हुने गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मार्दै अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएको छ । उनीहरूका कम्प्युटर, मोबाइललगायत डिजिटल डिभाइस जफत गरी अनुसन्धान थालिएको छ । गृहमन्त्री रमेश लेखकको सिफारिसमा नियुक्त भएका भट्टराईमाथि भिजिट भिसाको सेटिङमा व्यापक भ्रष्टाचार सञ्चालन गरेको आरोप लागेको छ ।
नयाँ पत्रिकाले खाडी मुलुकमा जाने यात्रुहरूसँग ५० हजार र युरोप जानेहरूसँग ३ लाख रुपैयाँसम्म असुली हुने गरेको समाचार लेखेकाे छ । सेटिङका आधारमा अध्यागमनले दैनिक औसतमा १०० जनालाई विदेश जान अनुमति दिने गरेको स्रोतको दाबी छ ।
अख्तियारले अन्डरकभर अपरेसन मार्फत प्रमाण संकलन गरी बुधबार छापा हानेको हो । छापाको अघिल्लो साँझ मात्र भट्टराईलाई मन्त्रालयमा तानिएको थियो । उनी गत असोज २३ गते विमानस्थल अध्यागमन कार्यालयमा पदस्थापन भएका थिए ।
स्रोतका अनुसार सेटिङमा ट्राभल एजेन्सीका संचालक समेत संलग्न छन् । भट्टराईले आफ्नै कोर टिम बनाएर मानव तस्करीको सञ्जाल चलाएको भनिएको छ । उक्त टिममा अधिकृत यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल, सरोज खनाल, कमलराज उपाध्याय लगायत रहेकाे स्राेतलाइ उदृत गर्दै समाचारमा भनिएकाे छ ।
अध्यागमन कार्यालयमा सरुवा हुन चाहने कर्मचारीले पाँचदेखि सात लाखसम्म बुझाउने गरेको र कतिपयले वर्षमा करोडौं कमाउने गरेका छन् । अध्यागमनको दरबन्दीभन्दा बढी कर्मचारी खटिएका छन्, जसमा धेरैजसो गृह मन्त्रालय र विभिन्न ट्रेड युनियन नेताहरूको सिफारिसमा पुगेका छन् ।
विगतमा पनि अध्यागमनमा सेटिङमार्फत मानव तस्करी हुने गरेका घटनाहरू सार्वजनिक भएपनि यसपटकको सञ्जाल बढी संगठित र सिधै मन्त्रीस्तरसम्म जोडिएको देखिएको छ ।
अहिले तस्करीमा संलग्न एजेन्ट, कर्मचारी र भित्रि सञ्जालको गहिरो अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।