११ जेठ, वीरगञ्ज — बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले विभिन्न कसूरमा अदालतको फैसला कार्यान्वयन गर्न आइतबार पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार वडाध्यक्ष कुशवाहालाई आइतबार आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो। “वडा समितिको कार्यालयमा बसिरहेको अवस्थामा कुशवाहालाई पक्राउ गरिएको हो,” उनले जानकारी दिए ।
प्रहरीका अनुसार कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीनवटा फरक–फरक मुद्दामा बारा जिल्ला अदालतबाट सजायको फैसला भइसकेको थियो। ती फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका कुशवाहालाई आइतबार नै बारा जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।