“स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय बाराले कलैया बजारमा रहेका पसल तथा उद्योगहरूमा छड्के अनुगमन गरेको छ ।
अनुगमनको क्रममा कलैयामा सञ्चालित सिद्धु सिद्धार्थ स्वीट्समा उत्पादन गरिएको नमकिनमा लेभल नभएको पाइएपछि र मिठाइ बनाउने कारखानामा सरसफाइको अवस्था अत्यन्तै कमजोर भेटिएपछि उक्त पसललाई जरिवाना गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले सिद्धार्थ स्वीट्सलाई एक लाख रुपैयाँ जरिवाना गरिएको हो ।
त्यस्तै, जिल्ला प्रशासनले कलैयामा सञ्चालनमा रहेका वाटर एटीएमहरूमा समेत अनुगमन गरेको छ । ती एटीएमहरूबाट वितरण भइरहेको पानीको गुणस्तर परीक्षणका लागि गुणस्तर तथा नापतौल कार्यालयको प्राविधिक टोलीसमेत अनुगमनमा सहभागी भएको थियो ।
अनुगमन टोलीको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले गरेका थिए । टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बारा, उद्योग विभाग कार्यालय मधेस प्रदेश, गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, र जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
प्रशासनले बजारमा गुणस्तरीय सेवा र उपभोक्ता हितको संरक्षणका लागि यस्ता अनुगमन नियमित रूपमा जारी राख्ने जनाएको छ ।