पर्साको वीरगञ्जमा घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने दुई युवकलाई प्रहरीले फरक–फरक स्थानबाट नियन्त्रणमा लिएको छ ।
चोरीको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । पहिलो घटना वैशाख २३ गते बिहान ४ बजे भएको थियो । वीरगञ्ज महानगरपालिका–१३, मुर्ली नयाँ टोल निवासी ३५ वर्षीया सारजा खातुनको नाममा दर्ता भएको मधेश प्रदेश–०३–०२७ प ५५५५ नम्बरको १६० सीसी क्षमताको एनएस मोटरसाइकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो ।
उक्त मोटरसाइकल चेसिस नम्बर MD2B54DX4NCE80300 र इञ्जिन नम्बर PDXCNE75869 रहेको छ । पीडित खातुनको जाहेरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले जेठ १६ गते सर्लाहीको कबिलासी नगरपालिका–४ निवासी २१ वर्षीय राधेश्याम यादवलाई उक्त मोटरसाइकलसहित पक्राउ गरेको छ ।
त्यसैगरी अर्को घटनामा जेठ १७ गते साँझ ४ः३० बजे वीरगञ्ज महानगरपालिका–४, अमरचोक निवासी ४६ वर्षीय प्रमोद प्रसाद साहको नाममा दर्ता भएको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको कालो र रातो रंगको १५० सीसी पल्सर मोटरसाइकल चोरी गर्ने क्रममा बारा बारागढी गाउँपालिका–१ निवासी २५ वर्षीय रूपेश चौधरीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।
दुवै अभियुक्तलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।