पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजमती देवी बरैनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कार्यक्रम गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष गुप्ताले शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ, पर्यटन, उज्यालो कार्यक्रम तथा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिए ।
गाउँपालिकाका सबै वडालाई रिङरोड प्रणालीअन्तर्गत जोड्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिने छ । अध्यक्ष गुप्ताका अनुसार दीगो र नतिजामुखी भौतिक पूर्वाधार विकासका लागि मास्टर प्लान तयार गरिनेछ । त्यसअन्तर्गत आवधिक गाउँ विकास योजना, भू–उपयोग योजना र प्रकोप व्यवस्थापन योजना निर्माण गरिने जनाइएको छ ।
अध्यक्ष गुप्ताले आवश्यकता र प्राथमिकताको आधारमा बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्दै सबै क्षेत्रको समुचित विकासमा ध्यान दिइने बताए । साथै, विकासका काममा स्थानीय जनसमुदाय, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहयोगले गति लिएको भन्दै आभार व्यक्त गरे । आगामी योजनाहरूमा सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।
कार्यक्रममा उपाध्यक्ष राजमती देवी बरैन, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडा अध्यक्षहरू लालबाबु चौरसिया, सञ्जय पटेल, सोनालाल चौरसिया, सञ्जय साह गोढ, जयनारायण कुर्मी, कार्यपालिका सदस्यहरू हरिओम साह, महिला तथा पुरुष सदस्य, समाजसेवी, शिक्षक, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।