ट्राफिक नियमको महत्व, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ट्राफिक सप्ताह २०८२’ आजदेखि पर्सामा औपचारिक रूपमा सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा शुरु भएको सात दिने सप्ताहको उद्घाटन प्रभातफेरीमार्फत गरिएको हो । प्रभातफेरीमा विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता, ट्राफिक प्रहरी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रा, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, नगर प्रहरी प्रमुख हरि भुसाल, समाजसेवी जयप्रकाश खेतान, कमल चौलागाईं, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।
प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताह अवधिभर वीरगञ्जका विभिन्न क्षेत्रमा ट्राफिक नियम, सडक सुरक्षा, सवारी सञ्चालनको मर्यादा र दुर्घटना न्यूनीकरण जस्ता विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
कार्यक्रमहरूमा स्कुल कलेजमा अन्तरक्रिया, पम्प्लेट वितरण, पोस्टर प्रदर्शन, सडक नाटक, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण लगायत समावेश गरिने जनाएको छ ।
ट्राफिक प्रहरीले ट्राफिक नियम पालना गर्दा सडक दुर्घटना घट्ने, सवारी यात्रा सुरक्षित र सहज हुने भन्दै सबै नागरिकलाई ट्राफिक नियममा जिम्मेवार बन्न आग्रह गरेको छ ।