वीरगंज महानगरपालिका वडा नं. ८ गहवास्थित एक गाईगोठबाट सशस्त्र प्रहरीले चार लाखभन्दा बढी मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ ।
गहवास्थित मुन्ना हवारीको गाईगोठमा चकलेट, खजुर र स्प्रे पेन्ट गरी चार लाख आठ हजार रुपैयाँ मूल्य बराबरका तस्करीको सामान संकलन गरिएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट संयुक्त टोली खटिएको थियो ।
शुक्रबार गरिएको छापामार अभियानमा उक्त गोठबाट तस्करी गरिएको चकलेट, खजुर र स्प्रे पेन्ट बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता तथा नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यो घटनाले सीमापार अवैध तस्करीको चेकजाँचमा कडा निगरानी बढेको देखाएको छ ।