दलका नेतादेखि उच्च तहका कर्मचारीहरू भ्रष्टाचार मुद्दामा तानिरहँदा, पत्रकारहरू पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को अनुसन्धानको घेरामा परेका छन् ।
पछिल्लो तीन महिनामा मात्रै अख्तियारले १० जना पत्रकारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तीमध्ये ७ जनाविरुद्ध एक साताभित्रै मुद्दा दर्ता गरिएको हो । अख्तियारले सार्वजनिक सूचना प्रकाशनमा अनियमितता गरेको अभियोगमा ती पत्रकारहरूमाथि मुद्दा चलाएको छ । गाउँपालिका तथा नगरपालिकाको ठेक्का सूचना अखबारमा नछापी झुट्टा बिल पेश गरी रकम असुल गर्ने वा एक प्रति मात्र प्रिन्ट गरेर कारबाहीबाट बच्ने रणनीतिमा सञ्चारकर्मी तथा सरकारी कर्मचारीहरूको मिलेमतो देखिएको अख्तियारको दाबी छ ।
प्रमुख घटनाक्रम र आरोपितहरू
१. वृजकुमार यादव – जनकपुर टुडे राष्ट्रिय दैनिक
जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक वृजकुमार यादवमाथि धनुषाको बटेश्वर गाउँपालिकाको सूचना एक प्रति मात्रै प्रकाशित गरी ६ लाख ४४ हजार १०० रुपैयाँ भुक्तानी लिएको आरोप छ । अख्तियारले उनलाई चैत १२ मा मुद्दा दायर गर्दै ३ वर्षसम्म कैद सजाय र बिगो मागदाबी गरेको छ ।
२. नवराज निरौला – नेपाल मिडिया हाउस प्रालि
बाराको फेटा गाउँपालिकासँगको मिलेमतोमा सूचना छापिएको झुटो विवरण पेस गरी १ लाख ४२ हजार १६० रुपैयाँ हिनामिना गरेको आरोपमा निरौला विरुद्ध मुद्दा परेको छ ।
३. भूषणकुमार सिंह, रवि अर्याल, कृष्णबहादुर कार्की – सप्तरी तिलाठी कोइलाडी प्रकरण
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको चारवटा टेन्डर सूचना एक–एक प्रति मात्रै छापिएको देखाई झुटा कागजात पेश गरी रकम हिनामिना गरिएको आरोपमा टाइम्स रिपब्लिक मिडिया प्रालिका भूषणकुमार सिंह, डच मिडिया प्रालिका रवि अर्याल र प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध मुद्दा परेको हो । उनीहरूमाथि ३ लाख १६ हजार बिगो र कैद सजाय माग गरिएको छ ।
४. रामजी वगले, रुपेन्द्र पटेल, ओमप्रकाश यादव – रौतहट फतुवा विजयपुर प्रकरण
रौतहटको फतुवा विजयपुर नगरपालिकाको टेन्डर सूचना अखबारमा प्रकाशित भएको भनी देखाई झुटा बिलमार्फत २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी गरिएको आरोपमा पत्रकारसमेत रहेका तीन सञ्चारकर्मीविरुद्ध मुद्दा परेको हो । जनसवाल राष्ट्रिय दैनिक, तराई पोस्ट र तराई एक्सप्रेससम्बन्धी कागजातहरू कारबाहीको दायरामा छन् ।
५. कमलकुमार उपाध्याय – मधेश प्रदेश मिडिया काउन्सिल
मधेश प्रदेश मिडिया काउन्सिलका तत्कालीन रजिस्ट्रार तथा केएस मल्टीपरपोज प्रालिका अध्यक्ष उपाध्यायले विज्ञापन नछापी ३ लाख ५२ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । उनी निलम्बनमा छन् ।
६. टिका भट्ट – रामेछाप पत्रकार महासंघ
रामेछाप पत्रकार महासंघका पूर्वसभापति टिका भट्ट पनि स्थानीय सरकारसँग मिलेमतोमा गरिएको आर्थिक अनियमितताको अभियोगमा मुछिएका छन् ।