नेपाल विद्युत प्राधिकरण, पोखरिया वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत पोखरिया क्षेत्रका विभिन्न स्थानमा डाइरेक्ट हुकिङमार्फत अवैध रूपमा विद्युत प्रयोग गरिरहेका ८ जनालाई नियन्त्रणमा लिएको छ ।
सो अभियान २०८२ जेठ २८ गते राति सञ्चालन गरिएको हो, जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राधिकरणको चुहावट नियन्त्रण टोलीको संयुक्त सहभागिता थियो ।
विद्युत चोरीको क्रममा प्रयोग गरिएको एक थान मोटर पनि घटनास्थलबाट बरामद गरिएको प्राधिकरणले जनाएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, पोखरिया पठाइएको छ ।
विद्युत प्राधिकरणले यस्ता अनाधिकृत कार्यहरूमा संलग्न जो–कोहीमाथि कडाइका साथ कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ । साथै, चुहावट तथा चोरी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै आगामी दिनमा यस्ता संयुक्त अपरेशनलाई निरन्तरता दिने प्राधिकरणको तयारी रहेको जनाएको छ ।