जगर्नाथपुर गाउँपालिका–२ मा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि र बासिन्दाबीच वडाका समसामयिक समस्या, नागरिकका प्राथमिक आवश्यकता र आगामी आर्थिक वर्षका योजनासम्बन्धी विषयमा गहन छलफल भएको छ ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष नेपाली कुशवाहा, वडा नं ३ का अध्यक्ष सुभाष यादव, वडा नं ५ का अध्यक्ष बिहारी महातो नुनिया र प्रमुख प्रशासनिक अधिकृत सन्देश यादवको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीय बासिन्दाहरूले खानेपानी, सडक–पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता सेवा–सुविधामा भोगिरहेका समस्याहरू खुलस्त रुपमा राखेका थिए। जनप्रतिनिधिहरूले ती सुझाव र गुनासाेलाई मनन गर्दै आगामी बजेटमा व्यवहारिक योजना समावेश गरिने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कार्यक्रममा सहभागी जनसमुदायप्रति आभार व्यक्त गर्दै भने, “असली योजना जनताको आवाजबाट आउँछ। सुझाव, आलोचना र सहकार्य नै सेवा प्रवाहको मेरुदण्ड हो ।”कार्यक्रममा महिलाहरू, युवाहरू तथा जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति र सहभागिता देखिएको थियो। जनप्रतिनिधिहरूका अनुसार यस्ता जनसंवाद कार्यक्रमले आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।