विश्व रक्तदाता दिवसको अवसरमा कलैया हस्पिटल प्रा.लि.ले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
‘रक्तदान गरौं, जीवनदान गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा दुईजना महिलासहित २७ जनाले स्वेच्छिक रक्तदान गरेको कलैया ब्लड बैंकका कर्मचारी कृष्ण यादवले जानकारी दिए । रगतको अभाव सम्बन्धी समाचारहरू विभिन्न सञ्चार माध्यममार्फत आजै बिहान सार्वजनिक भएपछि सहयोगको भावना जागृत गराउँदै तत्काल रक्तदान कार्यक्रमको आयोजना गरिएको कलैया हस्पिटल प्रा.लिका सञ्चालक डा. काशीलाल केशरीले बताए ।
उनले आगामी दिनहरूमा पनि रक्तदान कार्यक्रमलाई नियमित र व्यवस्थित ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
यस कार्यक्रमले नजिकिँदो स्वास्थ्य आपतकालका अवस्थामा रगतको सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्य लिएको आयोजकहरूले बताएका छन् ।