गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गौतमले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोप लागेकाे छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, मुद्दामा जरिवाना, कैद सजाय तथा स्रोत नखुलेको सम्पत्ति जफतको माग गरिएको छ । गौतमले सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता गरेकोबारे उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।
अनुसन्धानका क्रममा उनले सार्वजनिक ओहोदामा रहँदा २०५५ सालदेखि २०७९ साल चैतसम्म आर्जन गरेका सम्पत्तिको अध्ययन गर्दा स्रोत नखुलेको ठूलो मात्रामा सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार, सो अवधिमा गौतम र उनका परिवारको नाममा रहेको आयको स्रोत विश्लेषण गर्दा कुल २ करोड ८९ लाख २० हजार २ सय ६८ रुपैयाँ बराबरको वैध आम्दानी देखिएको थियो । तर, त्यसैबीच घर निर्माण, सवारी साधन खरिद, सुन किनमेल, अध्ययन खर्च, ऋण भुक्तानी, शेयर तथा बीमा लगायतमा गरी ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ बराबरको खर्च तथा लगानी भएको पाइएको छ ।
वैध आय र खर्चबीचको अन्तर घटाउँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ स्रोत नखुलेको रकम देखिएकाले उक्त सम्पत्ति गैरकानुनी ढंगले आर्जन गरिएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
गौतमले आफ्नो सम्पत्ति विवरणमा पनि झूटा सूचना प्रस्तुत गरी सम्पत्ति लुकाएको अनुसन्धानबाट खुलेको छ ।