पटेर्वा सुगौली गाउँपालिकाको १५औँ गाउँसभा सोमबार गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँको अनुमानित बजेट उपप्रमुख ममता महतोले प्रस्तुत गरिन् । सभामा विगत वर्षको समिक्षासहित आगामी वर्षका नीति तथा कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडाध्यक्षहरू फरमान मियाँ, बिजय गैरे, माधव राउत थारु र बाशु पञ्जियार थारु, कार्यपालिका सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट माछा पालक, तरकारी उत्पादक र दुग्ध उत्पादक किसानहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
सर्पदंश उपचार र रेबिज भ्याक्सिन सेवा घोषणा
अध्यक्ष दिनेश चौधरीले गाउँपालिकाद्वारा सञ्चालित आधारभूत अस्पतालमा सर्पदंश उपचार र रेबिज विरुद्धको खोप सेवा सुरु गरिने घोषणा गरेका थिए । यसका साथै, तीन तहको सरकारका कारण बजेट विनियोजनमा फरक परे पनि विकासमा गति ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भाथा धामसम्म पिच सडक निर्माण योजना
चौधरीले पर्सा जिल्लाको एक मात्र प्रमुख पर्यटकीय स्थल भाथा धामसम्म पिच सडक निर्माण गर्ने बहुवर्षीय योजना अगाडि सारे । यो परियोजनाले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
१. उद्यम र स्वरोजगार: ‘एक गाउँ, एक उद्यम’ कार्यक्रममार्फत स्थानीय उद्यमशीलता विकासमा जोड ।
२. शिक्षा: ‘खेल्दै सिक्दै’ कार्यक्रमलाई प्रवर्द्धन, प्राविधिक शिक्षामा प्राथमिकता, विषयगत शिक्षक व्यवस्थापन ।
३. स्वास्थ्य सेवा: आधारभूत अस्पताल सञ्चालनमा ल्याइने, स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता, रिफरल सेन्टरका रूपमा कार्यान्वयन ।
४. कृषि विकास: सिँचाइ सुविधा, कृषि पोल, तार, ट्रान्सफर्मर, कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार, अर्गानिक खेतीमा जोड, पशु बीमा कार्यक्रम ।
५. राजस्व र सुशासन: आन्तरिक राजस्व वृद्धि र बेरुजु न्यूनीकरणमा प्राथमिकता ।
६. पूर्वाधार विकास: गाउँपालिकाका मुख्य सडकहरू कालोपत्रे गर्ने योजना ।
यस बजेट र नीतिको सफल कार्यान्वयनले गाउँपालिकाको समग्र विकास र नागरिक जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ ।
भिडियाे सामाग्री