पर्सा जिल्लाको पोखरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड ४० लाख २७ हजार ४४८ रुपैयाँ ५८ पैसाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
सोमबार सम्पन्न ९ औँ नगरसभामा नगरपालिकाकी उपमेयर रुबी ठाकुरले सो बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर ठाकुरले बजेट प्रस्तुत गर्दै समावेशी, उत्तरदायी र समतामूलक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम तयार गरिएको बताइन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा महिला, बालबालिका, युवा, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकको सशक्तीकरणमा विशेष प्राथमिकता दिइएको जानकारी दिइन् ।
जनमुखी योजना र सेवा प्रभावकारिता
प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले सार्वजनिक बजेट तथा नीति कार्यक्रम नगरवासीको तत्कालीन आवश्यकता र प्राथमिकता अनुसार तयार पारिएको बताए । “बजेटले सेवाप्रवाहलाई थप प्रभावकारी बनाउनेछ,” उनले भने, “सामाजिक क्षेत्रको विकासमा पनि विशेष ध्यान दिइएको छ। ”
सुशासन र पारदर्शितामा जोड
नगर प्रमुख प्रदुमन चौहानले नगरसभामा बोल्दै नीति तथा कार्यक्रम सुशासन, पारदर्शिता र समावेशी विकासलाई आधार बनाएर तयार पारिएको बताए। उनले जनताको अपेक्षा अनुसार योजना कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे । नगरसभा मेयर चौहानको अध्यक्षतामा सम्पन्न भएको हो । उपमेयर रुबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत सिंह, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडासदस्य, नगरपालिका कर्मचारी, तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नगरपालिकाले चालू र पुँजीगत खर्चलाई सन्तुलन गर्दै आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि प्रवर्द्धन, खानेपानी, सरसफाइ, सडक निर्माण, वातावरणीय संरक्षण र डिजिटलीकरण जस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ ।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरूले बजेट र नीति कार्यक्रमप्रति प्रतिक्रिया दिँदै जनमुखी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए ।
भिडियाे सामाग्री