संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा तथा थमौतीका साथै भूमि आयोगको सदस्य बनाइदिने भन्दै घुस लेनदेन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि गम्भीर घुस लेनदेन गरेको अडियाे समेत हामीलाई प्राप्त भएको छ ।
जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा र थमौती तथा भूमिसम्बन्धी आयोगमा सदस्य नियुक्ति गरिदिने भन्दै ठूलो रकम घुस लिएको अडियोसहित उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता समेत भएको छ ।
मंगलबार दर्ता नम्बर C–078555 बाट दर्ता भएको उजुरीमा मन्त्री गुप्ताले एक व्यापारीसँग ५३ लाख रुपैयाँ घुस डिल गरेको प्रमाणित अडियो रेकर्ड समावेश गरिएको छ । अडियोमा गुप्ताले कास्की मालपोत कार्यालयका पूर्वप्रमुखको सरुवाका लागि रकम मागेको उल्लेख छ ।
भूमि आयोगमा नियुक्तिको लागि २५ लाखकाे डिल
उजुरीमा उल्लेख भए अनुसार, गुप्ताले भूमि आयोगमा सदस्य बनाइदिने भन्दै अर्को २५ लाख रुपैयाँ घुस माग गरेको अडियो पनि अख्तियारमा पेश गरिएको छ । अडियो रेकर्डमा मन्त्री गुप्ताकी भतिजी बताइएकी 'मेलिना' नाम गरेकी महिलामार्फत घुस रकम मागिएको, रकम मन्त्री निवासमै ल्याइदिन गाडी नम्बरसमेत निर्देशन दिइएको उल्लेख छ ।
मन्त्रीकै आवाज रहेकाे घुसकाे डिलमा 'दराजमा राखिएको' छ घुस रकमको चर्चा
उक्त अडियोमा "पशुपतिनाथको कसम खाएर भन्नु" जस्ता भावुक अभिव्यक्ति दिँदै मन्त्रीले व्यापारीलाई समस्या समाधान गर्ने आश्वासन दिएको सुनिन्छ । साथै, मन्त्री सचिव रबिलाल पन्थप्रति असन्तुष्टि व्यक्त गर्दै 'सरुवा नगरेको' गुनासो गरेको समेत रेकर्डमा उल्लेख छ ।
अडियोमा मन्त्री गुप्ताले रकम लिएपछि "शुरूवातमा लस्सी, त्यसपछि माछा अनि रक्सी खाने" भन्दै निजी लाभका लागि अपारदर्शी व्यवहार गरेको समेत सुनिन्छ ।
प्रधानमन्त्रीलाई जानकारी, तर भएनन् छानबिन
स्रोतका अनुसार, घुससम्बन्धी अडियोसहितको प्रमाण प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुझाइएको थियो । तर, प्रधानमन्त्रीले उक्त विषयमा छानबिन नगरी 'गुपचुप' राख्न सहयोग गरेको आरोप उजुरीमा समेत लगाइएको छ ।
पत्रकारसँग समाचार रोक्न अनुरोध
यस प्रकरणमा प्रतिक्रिया लिन खोज्दा मन्त्री गुप्ताले फोन र म्यासेजमार्फत कुनै स्पष्ट प्रतिक्रिया दिन नमानेको, बरु "बुधबार भेटेरै कुरा गरौं, समाचार नछाप्नुस्" भन्ने आग्रह बारम्बार गरिएको छ । संघीय मन्त्रीकै संलग्नतामा यति ठूलो अख्तियारसम्म पुगेको घुस प्रकरण सार्वजनिक हुनु देशको सुशासन, पारदर्शिता माथि गम्भीर प्रश्न खडा भएको छ ।
- अार्थिक दैनिकबाट भावानुवाद गरिएको
भिडियाे सामाग्री