पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित तीन जनालाई वीरगञ्जका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई हुण्डी कारोबारको आशंकामा नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा तीन जनालाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–२ निवासी २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगञ्ज महानगरपालिका–३ आदर्शटोल निवासी २३ वर्षीय बिनित कुमार श्रीवास्तव, तथा बाराको परवानीपुर गाउँपालिका–४ निवासी ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् ।
प्रहरीका अनुसार अनिल कुमार वर्णवाललाई वीरगञ्ज–१० मकालु चोकबाट ९ लाख ४७ हजार रुपैयाँसहित, बिनित कुमार श्रीवास्तवलाई वीरगञ्ज–८ लिंकरोडस्थित कृषि विकास बैंक अगाडिबाट १५ लाख ८१ हजार रुपैयाँसहित, र दिपक कुमार सोनारलाई वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट ना.१६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा ३ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालका अनुसार पक्राउ परेकाहरूबाट कुल २८ लाख २८ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरिएको छ ।
प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबार गर्न नहुने कसूर अन्तर्गत तीनै जनालाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।