पोखरिया नगरपालिकाको शैक्षिक क्षेत्र दिनानुदिन गम्भीर संकटतर्फ उन्मुख भएको छ ।
नगरपालिकाका दुई प्रमुख सामुदायिक विद्यालयको यस वर्षको एसईई (SEE) परीक्षाको नतिजाले शिक्षाको गहिरो पतन उजागर गरेको छ । नगरपालिका–६ स्थित श्री महोवनी पदम माध्यमिक विद्यालय, रानिगजबाट परीक्षामा सहभागी भएका ६४ जना विद्यार्थीमध्ये केवल २ जना मात्र उर्तिण भएका छन् ।त्यस्तै, श्री जिल्ला उचाङ्गल राष्ट्रिय क माध्यमिक विद्यालयबाट ३०० जना परीक्षार्थी सहभागी हुँदा केवल ६० जना मात्र उर्तिण भएका छन्।
शिक्षा व्यवस्थामा गम्भीर प्रश्नचिन्ह
यी विद्यालयहरूको अत्यन्त कमजोर नतिजाले पोखरियाको शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। यो अवस्था केवल विद्यालय व्यवस्थापनको कमजोरी होइन, नगरपालिकाको शिक्षा नीति र नेतृत्वको असफलता समेत भएको शिक्षाविद्हरूको ठहर छ।
स्थानीय अभिभावक र शिक्षा सरोकारवालाहरूले पोखरिया नगरपालिकाको शिक्षा शाखा प्रमुखको नैतिक जिम्मेवारी उठ्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । उनीहरूले भनेका छन्, “यसरी शून्यतर्फ झरेको नतिजा अपमानजनक मात्र होइन, खतराको संकेत पनि हो ।”
नगरप्रमुखको भूमिकामाथि प्रश्न
पोखरियाका मेयरमाथि पनि कडा आलोचना सुरु भएको छ । स्थानीयहरूका अनुसार मेयर आफन्त र परिवार केन्द्रित राजनीतिको घेरामा सीमित भइरहेका छन् “शिक्षा जस्तो संवेदनशील क्षेत्रप्रति चरम बेवास्ता हुँदै आएको छ,” एक अभिभावकको भनाइ थियो ।
शिक्षाविद्को सुझाव र चेतावनी
शिक्षाविद्हरूले तत्काल सुधारको खाँचो औंल्याउँदै गुणस्तरीय पठनपाठन, शिक्षक क्षमता अभिवृद्धि तालिम र विद्यालयको नियमित अनुगमन सुनिश्चित गर्न नगरपालिका र शिक्षा शाखालाई आग्रह गरेका छन्।उनीहरूको चेतावनी छ — “यदि शिक्षा संकटका विरुद्ध तुरुन्त ठोस कदम चालिएन भने पोखरियामा भविष्यका पुस्ता गम्भीर संकटमा पर्न सक्छन् ।”