पोखरिया नगरपालिका–५ सतवरियामा सडकको चौडाइ कटौती गर्ने प्रयास गरिएको भन्दै स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्। उनीहरूले पुरानो नापीअनुसार २८ फिट चौडा सडकलाई केवल २३ फिटमा सीमित गर्ने प्रयास भइरहेको छ ।
मोलि मियाको घरदेखि राधाकृष्ण प्रावि हुँदै राधाकृष्ण मन्दिरसम्मको सडकमा पूर्वतर्फ नाला बनाउने क्रममा वडा अध्यक्ष र नगर प्रमुखको मिलोमतोमा योजनाबद्ध रूपमा चौडाइ घटाउने प्रयास भएको स्थानीयको भनाइ छ । पश्चिमतर्फ पहिले नै नाला निर्माण भइसकेको भए पनि पूर्वतर्फ नाला बनाउन अवरोध गरिएको हो।
स्थानीयवासीहरूका अनुसार वडा अध्यक्ष आफ्नो नातेदारलाई फाइदा पुर्याउन र सर्वसाधारणलाई सास्ती दिने नियतले सडक साँघुरो बनाउन खोजिएको हो । सडकको बीच भागमा रहेको पिपलको बोटका कारण समस्या थप जटिल बनेको छ ।
यसरी मापदण्डविपरीत निर्माण कार्य अगाडि बढाए सडक कब्जा, निर्माणमा विभेद र नागरिकको पहुँचमा अवरोध हुने भन्दै स्थानीयहरूले निर्माण कार्य तत्काल रोक्न चेतावनी दिएका छन् । सार्वजनिक सरोकारको विषयमा नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयवासीहरूले अन्याय र पूर्वाग्रही कार्यप्रति सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।