वातावरणीय द्वन्द्वबारे आधारभूत चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कलैयामा एक विशेष कार्यशाला सम्पन्न गरिएको छ ।
सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजनामा बरेवा दरबार होटलमा सम्पन्न “वातावरणीय हिंसा नक्साङ्कन कार्यशाला”मा प्रसौनी गाउँपालिकाका दुई विद्यालयका १५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाको मुख्य उद्देश्य वातावरणीय परिवर्तनले मानव जीवनमा पार्ने प्रभाव, त्यसबाट उत्पन्न हुने द्वन्द्व र समाधानका उपायहरूबारे विद्यार्थीहरूलाई सचेत गराउनु रहेको आयोजकले जनाएको छ ।
सामाजिक परिवर्तन केन्द्रका अध्यक्ष तथा वातावरणीय नीति विज्ञ पवन राय र अनुसन्धान अधिकृत प्रतिक्षा गिरीले सहभागी विद्यार्थीहरूलाई सहज र अन्तरक्रियात्मक शैलीमा प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षणमा वातावरणीय हिंसा न्यूनीकरणका व्यवहारिक उपायहरू, जलवायु परिवर्तनका प्रभाव, स्थानीय समस्या नक्साङ्कन तथा समाधानका उपायहरूबारे जानकारी दिइएको थियो। सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञानका आधारमा विद्यालय र समाजमा लागु गर्ने गरी कार्ययोजना समेत तयार पारेका छन् । ती योजनाहरू स्थानीय स्तरमै कार्यान्वयन गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
सामाजिक परिवर्तन केन्द्र बाराका फिल्ड अफिसर विक्की महतोले भने, “विद्यार्थी र युवाहरूमा वातावरणीय हिंसा र त्यसबाट उत्पन्न हुने द्वन्द्वबारे आधारभूत समझदारी बनाउनु, उनीहरूलाई जिम्मेवार बनाउँदै संरक्षणमा नेतृत्व लिन प्रोत्साहित गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।”
उक्त कार्यशालाबाट बालबालिका र युवामा वातावरणीय चेतना र संलग्नता वृद्धि हुने विश्वास गरिएको छ । संस्थाले यस्ता कार्यक्रमलाई ग्रामीण क्षेत्रमा निरन्तरता दिने तयारी पनि गरेको जनाएको छ ।