वीरगञ्ज महानगरपालिकाका केही वडामा drinking water को चरम अभाव भएपछि सखुवा प्रसौनी गाउँपालिकाले आफ्नो दमकल (वारुण यन्त्र) प्रयोग गरी पीडित क्षेत्रमा पानी वितरण गर्न थालेको छ ।
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवका अनुसार, वीरगञ्जमा पानीको अभाव देखिएपछि गाउँपालिकाको बारुण यन्त्र (दमकल) को प्रयोग गरी मानवता आधारित सहयोग सुरु गरिएको हो ।
“मानवताको सवालमा भूगोलको सीमाना फिक्का हुन्छ,” अध्यक्ष यादवले भने, “थोरै राहत भए पनि होस् भनेर गाउँपालिकाको वारुण यन्त्र प्रयोग गरेर पानी आपूर्ति सुरु गरेका हौं ।”
उनका अनुसार, मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौं क्षेत्रमा पहिलो चरणमा करिब ६ हजार लिटर पानी वितरण गरिएको छ । बुधवार रानीघाट क्षेत्रमा पनि पानी पुर्याइने योजना रहेको उनले जानकारी दिए ।
सखुवा प्रसौनी गाउँपालिकाका डीप बोरिङहरूबाट दमकलको ट्याङ्कीमा पानी भरेर वीरगञ्जसम्म ल्याइने गरिएको छ । अध्यक्ष यादवले संकटको समयमा सरकारी स्रोत र साधन जनताको सेवामा परिचालन हुनुपर्ने धारणा व्यक्त गरे ।
यसैबीच, वीरगञ्ज महानगरपालिकाले पनि आफ्ना विभिन्न वडामा ट्याङ्करमार्फत पानी वितरण कार्य सुरु गरिसकेको छ। चापाकल सुकेका, धारा बन्द भएका र धुलोबाट पानी भरिएको गुनासोपछि महानगरले पानी वितरणमा सक्रियता देखाएको हो ।