वीरगन्ज तथा वरपरका क्षेत्रमा खानेपानीको चरम अभाव उत्पन्न भएपछि जनमत पार्टीले 'जल सत्याग्रह' आन्दोलन सुरु गरेको छ । पानीको अभावका कारण स्थानीय बासिन्दा बिहानदेखि बेलुकासम्म पानीको खोजीमा भौंतारिन बाध्य छन् ।
विगतका वर्षहरूमा पनि देखिएको पानी अभावको समस्यालाई सम्बोधन गर्न सरकारले कुनै गम्भीर प्रयास नगरेको आरोप लगाउँदै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले गाग्री र बाल्टिन बोकेर सडकमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा ‘पानी दे या मारी दे’, ‘तीनै तहको सरकार मुर्दाबाद’, ‘वीरगन्जमा पानीको लागि विशेष प्याकेजको घोषणा गर’ लगायतका नाराहरू लगाइएको थियो । आन्दोलनकारीहरूले वीरगन्ज र पर्सा जिल्लालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेज लागू गर्न माग गरेका छन् ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वीरगन्जको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाए । उनले वीरगन्जलाई निरन्तर उपेक्षा गरिएको भन्दै आन्दोलन आवश्यक भएको बताए । "यो हाम्रो पार्टीको सरकार भएको अवस्थामा पनि जनताको पक्षमा लड्न पछि पर्दैनौं," नेता सर्राफले भने । उनले आवश्यक परे मुख्यमन्त्री कार्यालय घेराउ गर्नेसमेत चेतावनी दिए ।