बलिउडकी चर्चित नेपाली मूलकी अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानमा सहभागिता जनाएकी छन् ।
रास्वपाले ‘न्यायका लागि’ अभियान अन्तर्गत आज काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा हस्ताक्षर संकलन गरेको कार्यक्रममा कोइरालाले पनि हस्ताक्षर गरेकी हुन् ।
हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले रवि लामिछानेमाथि राज्यबाट अन्यायपूर्ण व्यवहार भएको बताइन् । उनले कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको प्रष्ट पार्दै, एक आम नागरिकको हैसियतले अन्यायको विरोधमा आवाज उठाउन आएको उल्लेख गरिन् ।
सञ्चारकर्मीले ‘रविजीलाई अन्याय भएको ठम्याइ तपाईंको हो ?’ भन्ने प्रश्न राख्दा कोइरालाले बिना हिचकिचाहट ‘डेफिनेट्ली’ भन्दै रविको समर्थनमा आफ्नो स्पष्ट र दृढ धारणा सार्वजनिक गरिन् ।
रास्वपाले लामिछानेविरुद्ध भइरहेको कारबाहीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै आम नागरिकसमक्ष हस्ताक्षर अभियानमार्फत न्यायको माग अघि सारेको छ ।