आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को निर्माणमा सरकारको सुस्त गतिप्रति संसदमा गम्भीर प्रश्न उठाएका छन् ।
मंगलबारको विशेष समयमा बोल्दै सांसद साहले फास्ट ट्र्याकको प्रगति अत्यन्तै न्यून रहेको र यसमा नीतिगत भ्रष्टाचारको आशंका उब्जिएको बताए । उनले फास्ट ट्र्याक र मध्यपहाडी लोकमार्गको प्रगतिमा देखिएको फरक उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।
“मध्यपहाडी लोकमार्गमा करिब १४ सय किलोमिटर सडक पिच भइसकेको छ, ८५ प्रतिशत प्रगति भएको छ भन्ने सुनिन्छ,” सांसद साहले भने, “तर फास्ट ट्र्याकको हालत के छ ? ६ वर्षमा एक इन्च पनि पिच हुन सकेको छैन, यो किन ?”
सांसद साहले सेनालाई जिम्मा दिइएको ६ वर्षसम्म पनि मुख्य काम सम्पन्न हुन नसक्नु नेपाली सेनाको गरिमा र क्षमतामाथि प्रश्न उठाउने अवस्था सिर्जना भएको बताए । सुरुङमार्ग र पुलको काममा ४० प्रतिशत प्रगति देखिए पनि सडक पिचको काम शून्य भएको उल्लेख गर्दै उनले विशेषगरी खोकनाको प्रगतिमा शून्य प्रतिशत रहेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले फास्ट ट्र्याक मात्र होइन, देशका अन्य प्रमुख राजमार्गहरू— महेन्द्र राजमार्ग, बुटवल–नारायणघाट, मुग्लिङ–काठमाडौँ, मुग्लिङ–पोखरा र नौबिसे–नागढुंगा सडक जस्ता परियोजनाहरू पनि लथालिङ्ग अवस्थामा रहेको दाबी गरे । उनले नेताहरूको चासो भएका क्षेत्रमा भने सडक योजनाहरू तीव्र गतिमा अघि बढ्ने प्रवृत्तिलाई दुखद भने ।
सांसद साहले ढिलो काम, समय थप्ने, हर्जाना नलिने, ठेक्का तोड्न नचाहने र ठेकेदारको मिलेमतोमा सरकार चल्ने प्रवृत्तिको आलोचना गरे । “ठेकेदारहरूको इशारामा सरकार नाच्ने, माल कमाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,” उनले भने ।
साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नीतिगत भ्रष्टाचारसम्बन्धी विषयमा छानबिन थाल्न आग्रह गर्दै फास्ट ट्र्याकलगायत ठूला पूर्वाधार आयोजनामा पारदर्शिता र सुशासनको खाँचो भएको बताए ।