नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारमाथि कडा आरोप लगाएका छन् । बिहीबार ललितपुरमा आयोजित श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष दाहालले देश हाल संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै जटिल मोडमा रहेको बताएका हुन् ।
उनले भने, “अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन । सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ ।”
दाहालले श्रम र उत्पादनसँग जनतालाई जोड्दै मुलुकमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्नुपर्ने बताए । जनतासँगको सम्बन्ध मजबुत बनाएर प्रतिरोधको ऊर्जा संगठित गर्नुपर्ने उनले जोड दिए ।
‘सडकबाटै प्रतिवाद गर्छौं’ — दाहालको चेतावनी
कार्यक्रममा दाहालले सरकारलाई खबरदारी गर्दै भने, “हामीले धेरै पटक खबरदारी गर्यौं, तर सरकार अझै भ्रष्टाचारमै लिप्त भइरहेको छ । अब यदि जनभावना विपरीत अघि बढेमा हामी सडकबाटै प्रतिवाद गर्न बाध्य हुनेछौं ।”
उनले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरूमाथि विजय हासिल गर्न सकिने भन्दै वाइसिएल अभियानमार्फत समाजमा श्रमको सम्मान र उत्पादनमा योगदान बढाउने दिशा लिइएको बताए ।
दाहालको यो अभिव्यक्ति सत्तापक्षप्रति गम्भीर आलोचना र विपक्षी भूमिकाको संकेतको रूपमा लिइएको छ ।