खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराको लापरवाहीका कारण वीरगञ्ज महानगरपालिका–१४ स्थित बहुअरी खानेपानी उपभोक्ता समितिको योजना दुई वर्षदेखि अधुरो रहँदा वडावासी खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन् ।
उक्त योजना मधेस प्रदेश सरकारअन्तर्गत पर्सा र बारालाई समेट्ने गरी सञ्चालनमा ल्याइएको भए पनि डिभिजन कार्यालयले विभिन्न बहानामा काम रोकेको आरोप उपभोक्ता समितिका अध्यक्ष जावेद एकबाल हैदरले लगाएका छन् । उनका अनुसार वीरगञ्जमा पानीको अभाव विगत दुई वर्षदेखि बनिरहेको छ । त्यसमाथि बहुअरी उपभोक्ता समितिको योजना समयमा सम्पन्न नभएकोले समस्या झनै विकराल भएको हो । “कार्यालय प्रमुख किशोरी यादवकै कारण दुई वर्षअघि सकिनुपर्ने योजना अझै अलपत्र रहेकाे हैदरको भनाइ छ ।
५० लाखको योजना अधुरै
मधेस प्रदेश सरकारले यस योजनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरे पनि प्रमुख यादवले केवल पाइप खरिद गरेर काम रोकिएको आरोप छ । उक्त योजनाअन्तर्गत विद्युत पोल, ट्रान्सफर्मर जडान, ढलान र सडक फुटानजस्ता आवश्यक कार्यहरू प्राथमिकतामा राख्नुपर्ने भए पनि त्यतातर्फ ध्यान नदिँदा आयोजनाको सञ्चालनमा समस्या आइरहेको समितिको भनाइ छ । पाइप जडानका लागि बहुअरी टोलमा विभिन्न स्थानमा सडक फुटाइएको थियो । तर त्यसपछि पाइप नओछ्याइएपछि त्यहाँको आवतजावत नै प्रभावित भएको छ । स्थानीयले बाध्य भएर सडक पुनः पुरेका छन् ।
“कार्यालय प्रमुख यादव न कार्यालयमा भेटिन्छन्, न फोन उठाउँछन्। उल्टै हामीले स्थानीयबाट गाली खानुपरेको छ,” अध्यक्ष हैदरले गुनासो पोखे । कार्यालय प्रमुख किशोरी यादवसँग यसबारे बुझ्दा उनले गल्ती स्वीकार गरेका छन् । उनले प्रदेश सरकारले प्राविधिक टोली ढिला पठाएकाले काम अघि नबढेको बताए । “अब तयारी पूरा भएको छ, चाँडै योजना सम्पन्न गर्छौं,” यादवको दाबी छ ।
स्थानीय वडावासीले तत्काल योजनाको काम सम्पन्न गरी पीउनेपानीको सुविधा सुनिश्चित गर्न माग गरेका छन् ।