लोकतन्त्रमा जनताको सेवक मानिने जनप्रतिनिधिबाटै जनतामाथि अपमानजनक व्यवहार हुनु आफैंमा दुःखद मानिन्छ । यस्तै एक गम्भीर घटनाले मधेश प्रदेशमा जनप्रतिनिधिको आचरण र उत्तरदायित्वमाथि प्रश्न खडा गरेको छ ।
बारा जिल्लाको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवमाथि सार्वजनिक स्थानमै मदिरा सेवन गरी एक युवामाथि दुर्व्यवहार तथा हातपातको प्रयास गरेको आरोप लागेको छ ।
कलैया उपमहानगरपालिका–३, गङ्गापुरका विकास साहले अध्यक्ष यादवले आफूलाई सार्वजनिक स्थानमा गालीगलौज र धम्की दिएको बताएका छन् ।
साहका अनुसार, उनी सामान्य कामका सिलसिलामा कलैया–गढीमाई सडक खण्डअन्तर्गत यामाहा शोरुमअगाडि बाटो काट्दै थिए, त्यही बेला मधेश प्रदेश ०३–००१ च ७७२२ नम्बरको स्कार्पियो गाडीको पछाडिको टायर अचानक पड्किएको थियो । सो गाडीमा गाउँपालिका अध्यक्ष यादव सवार थिए ।
साहको भनाइमा, टायर पड्किएको दोष आफू चढेको मोटरसाइकललाई दिँदै अध्यक्षले मदिरा सेवनको अवस्थामा अशोभनीय व्यवहार गरेका थिए ।
‘अध्यक्ष यादवले आफ्नो पद र शक्तिको दम्भ देखाएर मलाई हप्काउन खोज्नुभयो, म मानसिक रूपमा प्रताडित भएको छु,’ साहले भने । उनले थपे, ‘गाउँपालिका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिले दिउँसै मदिरा सेवन गरी चिच्याउने, धम्क्याउने र हातपात गर्न खोज्नुले गाउँपालिकाको इज्जतमै धब्बा लागेको छ।’
साहले अध्यक्षले ‘पावर’ प्रयोग गरी आफूलाई थुनाउने धम्की दिएको दाबीसमेत गरेका छन् ।
घटनालगत्तै उपस्थित ट्राफिक प्रहरीसमक्ष आफ्नो कुरा राख्दा समेत अध्यक्षको प्रभावमा परेर प्रहरीले उल्टै आफूलाई हप्काएको आरोप साहको छ ।
स्थानीयवासीले उक्त घटनाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, ‘हामीले भोट दिएर सेवा गर्न पठाएका जनप्रतिनिधि आम जनतालाई तुच्छ व्यवहार गर्न थालेका छन्, जुन अत्यन्त दुर्भाग्यपूर्ण हो ।’
घटनापछि अध्यक्ष यादवसँग प्रतिक्रिया लिन प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
यो घटनाले स्थानीय तहमा देखिएको शक्ति दुरुपयोग र राजनीतिक अहंकारको तस्वीर उजागर गरेको छ । जनप्रतिनिधिबाटै जनताको अपमान हुनु लोकतान्त्रिक मूल्य र आचरणको गम्भीर अवमूल्यन हो ।