बाराको सिम्रौनगढ नगरपालिका–९ पिठवा नजिकै भारतबाट नेपालतर्फ लागू औषध ल्याउँदै गरेका दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–१ धुर्वा टोल निवासी २० वर्षीय राजेश गुप्ता र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ खड्का टोल निवासी २४ वर्षीय नसिर अंसारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीहरू ज ८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गर्ने क्रममा प्रहरीको निगरानीमा परेका हुन् । प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोम प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको पछाडि सवार अंसारीले बोकेको स्याउको दुई वटा कार्टुनभित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागू औषध फेला पारेको हो । पक्राउ परेका दुबैजनासँग प्रहरीले नोफिन १६०० एम्पुल, फेनारगन १६०० एम्पुल र डाइजोपाम १६०० एम्पुल गरी कुल ४ हजार ८ सय एम्पुल लागू औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले उनीहरूलाई नियन्त्रणमा लिएर लागू औषध नियन्त्रण सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।