रौतहट प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा साढे पाँच करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको छ । भारत–नेपाल सीमावर्ती क्षेत्र हुँदै हुने तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता पाएको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका ईकाइहरूले सक्रिय तस्कर सञ्जाललाई निस्तेज पार्दै कुल ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरका अवैध वस्तुहरू बरामद गरेका हुन् ।
जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार ती सबै सामग्री कानुनी प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
२९६ सवारीसाधन नियन्त्रणमा
तस्करीमा प्रयोग भएका ५ स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई–रिक्सा, २४३ मोटरसाइकल र ३३ साइकलसहित २९६ वटा सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
१०३ तस्कर पक्राउ, २२ जना विदेशी
प्रहरीले तस्करीमा संलग्न १०३ जनालाई पक्राउ गरेको छ, जसमा २२ जना विदेशी नागरिक रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
६४० फरार प्रतिवादी पक्राउ
त्यस्तै, अदालतबाट सजाय सुनाइसकेका ६४० जना फरार प्रतिवादीलाई पनि प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयन गराएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार पक्राउ परेकाहरूबाट ४८ लाख २९ हजार ९८४ रुपैयाँ जरिवाना असुल गरिएको छ । साथै, उनीहरूलाई ११४ वर्ष १ महिना २० दिनको कैद भुक्तानका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो ।
रौतहट प्रहरीले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा अझ सशक्त रुपमा सञ्चालन गरिने जनाएको छ ।