पोखराको बाटुलेचौरस्थित चर्चित ‘लिची बगान’ १३४ रोपनी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्वभूमि व्यवस्थामन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ ।
बुधबार अख्तियार कार्यालय उपस्थित भएकी सांसदसमेत रहेकी श्रेष्ठसँग अडियो काण्डसँग सम्बन्धित स्वर परीक्षण (भ्वाइस सेम्पल) समेत लिइएको हो । दुई साता अघि सार्वजनिक भएको अडियोमा सुनिएको महिला स्वर श्रेष्ठको हो कि होइन भन्ने यकिन गर्न आयोगले यो प्रक्रिया अगाडि बढाएको हो ।
यसअघि पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाको पनि स्वर परीक्षण भइसकेको छ । उनीहरूबीचको घूस ‘डिल’ भएको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि देशभर चासोको विषय बनेको थियो ।
अडियो सक्कली भएको पुष्टि
विधि विज्ञान प्रयोगशालाले उक्त अडियोलाई सक्कली भएको पुष्टि गरिसकेको छ । अडियोमा पोखराको ‘लिची बगान’ सम्बन्धी जग्गा हिनामिना प्रकरणमा ठूलो रकम लेनदेन भएको संवाद समेटिएको छ ।
घूस प्रकरण मिडियामा आउनासाथ तत्कालीन मन्त्री गुप्ताले असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । उनले उक्त प्रकरणमा संलग्नता अस्वीकार गरे पनि अडियो र अन्य प्रमाणको आधारमा आयोगले अनुसन्धानलाई अगाडि बढाएको हो ।
यसै प्रकरणमा संलग्न रहेको आशङ्कामा भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र पूर्वभूमि व्यवस्था सचिव अर्जुनप्रसाद पोखरेलसँग पनि बयान लिने तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ । आयोगले हालसम्म ५ जनाभन्दा बढी व्यक्तिहरूको बयान र प्रमाण सङ्कलन गरिसकेको छ । प्रारम्भिक अनुसन्धानमा सार्वजनिक सम्पत्तिमा हिनामिना गर्न योजनाबद्ध रूपमा मन्त्री, सचिव र निजी बिचौलियाबीच मिलेमतो रहेकाे देखिन्छ ।
यसैबीच, नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिताकाे अडियाे टेस्टबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पार्टी अध्यक्ष श्रेष्ठको संलग्नता पुष्टि भएमा राजनीतिक दबाबसहित कानुनी जटिलता थपिन सक्छ ।
अख्तियारले घूस काण्डलाई उच्च प्राथमिकताको मुद्दाका रूपमा अघि बढाउँदै अनुसन्धानलाई निष्पक्ष, पारदर्शी र प्रमाण मूलक बनाउने प्रतिबद्धता जनाएको छ ।
भिडियाे सामाग्री