सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ नम्बर गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित एक पशुपालन फर्ममा छापा मारेर ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ ।
बिहीबार राति ८ बजेर ५ मिनेटमा गरिएको संयुक्त अपरेसनमा 'तुलसी पशुपालन फर्म'बाट ३१ पोका अवैध कपडा र प्लाटिनियम ब्रान्डका ७० कार्टुन चुरोट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामानको अनुमानित बजार मूल्य १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबर रहेको छ ।
छापा मार्ने टोलीमा सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणका प्रमुख एसपी देवबहादुर चन्दको नेतृत्वमा ५१ जना सुरक्षाकर्मी र मलंगवा भन्सार कार्यालयका अधिकृत कमल बहादुर खड्कासहित ५ जना कर्मचारी सहभागी थिए ।
सशस्त्र प्रहरी बल, मधेश प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालले यो अपरेसन तस्करी नियन्त्रणको अभियान अन्तर्गत हालसम्मकै ठूलो सफलता भएको बताएका छन् । उनले पदभार सम्हालेयता दुई महिनाको अवधिमा मात्र १७ वटा अपरेसनमार्फत १७ करोड १२ लाख ४६ हजार ४८६ रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा लागुऔषध बरामद गरिएको जानकारी दिए ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुरजसेन ओलीका अनुसार उक्त अवधिमा १,२८० किलो २१६ ग्राम गाँजा र ८२,९६६ वटा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुलसमेत बरामद गरिएको छ ।
डिआईजी ढकालले चोरी र तस्करी नियन्त्रणमा सुराकी प्रणालीको प्रभावकारी प्रयोग तथा निगरानी क्षेत्रको विस्तारले परिणाम दिन थालेको बताएका छन् । प्रवक्ता ओलीले तस्करी नियन्त्रणमा नागरिकबाट प्राप्त सूचना प्रभावकारी हुने भएकाले आम जनतालाई जानकारी दिन आग्रहसमेत गरेका छन् ।
बरामद सामान आवश्यक अनुसन्धानपछि मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ भने तस्करीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय, बर्दिवासले जनाएको छ । पछिल्लो समय मधेश प्रदेशमा सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा कडा उपस्थिति देखाएको छ ।