बारामा सर्पको टोकाइबाट एकजना ११ वर्षीय बालकको मृत्यु भएको छ । पचरौता नगरपालिका–३ श्रीनगर बैरिया निवासी मनोज प्रसाद कुशवाहाका छोरा संगम कुमार कुशवाहाको सर्पदंशका कारण ज्यान गएको हो ।
शुक्रबार राति करिब साढे १० बजे उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि परिवारजनले स्थानीय धामीझाँक्री बोलाएर झारफुक गराएका थिए । झाँक्रीले अवस्था गम्भीर देखिएपछि अस्पताल लैजान सुझाएका थिए ।
तर, संगमलाई उपचारका लागि कलैया स्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विशेषज्ञहरूका अनुसार सर्पदंशपछिको प्रारम्भिक ‘गोल्डेन अवर’ भित्र चिकित्सकीय उपचार हुन सकेको भए सम्भवतः बालकको ज्यान बच्न सक्थ्यो ।