बाराको विश्रामपुर गाउँपालिका–३ स्थित गाउँपालिका कार्यालय पछाडिबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलिएका अवैध सामानसहित एक ई-रिक्सा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनियाबाट खटिएको टोलीले आइतबार राति भारतबाट अबैधरूपमा नेपाल ल्याइँदै गरेको प्र.२–०३–००१ स. ४२६९ नम्बरको ई-रिक्सामा लोड गरिएको अवैध सामान बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक हरि प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले सो कारबाही गरेको सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिए ।
प्रहरीका अनुसार उक्त रिक्सामा अन्दाजी ६ लाख १० हजार रुपैयाँ बराबरका आठ पोका विभिन्न प्रकारका रेडिमेड कपडा लोड गरिएको थियो। ई-रिक्सासहित कुल मूल्य करिब ८ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका कपडा तथा रिक्सालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।