कहिले पानी पर्छ ?” भन्ने प्रश्नसँगै बाराका किसानको दिनचर्या आकाश हेरिरहेका बितिरहेको छ । डेढ महिनासम्म पानी नपरेपछि जिल्लाका १६ पालिकाका लाखौं किसान वर्षात् हुने आशामा आकाश ताकिरहेका छन् ।
कलैया उपमहानगरपालिका–१७ का किसान पिरमहम्मद हवारीले असारमा वर्षा नहुँदा साउनमा पानी पर्छ कि भन्ने आशामा धान रोपेका थिए। तर साउन महिनासमेत पानी नपरेपछि उनीहरू चिन्तित छन् । “हजारौं रुपैयाँ खर्च गरेर रोपाई गर्यौं, तर पानी नभएर अब बाली जोगाउनै गाह्रो छ,” हवारी भन्छन् । अहिले उनीहरू वाटर पम्प र मोटरको सहायताले खेत सिँचाइ गर्न बाध्य छन् ।
तर सबै किसानसँग सिँचाइका उपकरण छैनन् । साधन–स्रोत नभएका किसानहरू भाडामा मोटर लिएर खेत सिँचाइ गरिरहेका छन् । “खेती अत्यन्तै महँगो भएको छ,” किसान हिरालाल साहले भने, “मोटरले सिँचाइ गर्न सस्तो पर्छ, तर वाटर पम्प प्रयोग गर्दा खर्च धेरै लाग्छ।” उनले पर्याप्त भोल्टेज नहुँदा सिँचाइ गर्दा झनै खर्चिलो हुने बताए ।
धान रोप्नका लागि एक कठ्ठा जग्गामा तीन घण्टा पानी लगाउनु पर्ने उनले सुनाए । अर्का किसान महेन्द्र पटेलका अनुसार साढे चार कठ्ठा खेतमा रोपाइँ गर्न १२ लिटर डिजेल लागेको छ ।
साउन महिनासमेत वर्षा नहुँदा जिल्लाभरका किसान अझै रोपाइँमै व्यस्त छन् । पर्याप्त वर्षा नभएको खण्डमा धानको उत्पादनमा ठूलो गिरावट आउने निश्चितजस्तै देखिन्छ ।