जिल्ला पर्साको जगरनाथपुर गाउँपालिका–२, जानकीटोल चोकस्थित भित्री सिमानाका हुँदै लागुऔषध सेवन गरी नेपाल प्रवेश गरेका १६ जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा पर्सा, बारा, धनुषा, सिरहा लगायतका विभिन्न जिल्लाका युवकहरू रहेका छन् । प्रहरीले मुख्य सिमानाकामा निगरानी बढाएपछि भित्री सिमानाका प्रयोग गरी लागुऔषध (ट्याब्लेट, इन्जेक्सन, कोरेक्स आदि) सेवन गर्दै नेपाल छिर्ने र त्यसपश्चात होहल्ला, झै–झगडा, सवारी दुर्घटना तथा आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढेपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत इलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका राहुल यादव, वडा नं. १३ का सुमित कुशवाहा, वडा नं. १४ का दिपेन्द्र पासवान, दिनानाथ पटेल, वडा नं. १७ का सुजित पटेल, वडा नं. २१ का फिरोज अन्सारी, देवनारायण राम, वडा नं. २३ का श्यामसुन्दर यादव त्यसैगरी अजय दास, टलकबहादुर के.सी., विन्दवासिनी गाउँपालिका वडा नं. २, पर्साका नितेश मुखिया, ठोरी गाउँपालिका वडा नं. ४का राेहन बुढाथाेकी, धोबिनी गाउँपालिका वडा नं. ३ का रिजवान हवारी, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ बाराका मनुप अछामी, छिरेश्वर नगरपालिका वडा नं. १, धनुषाका जितेन्द्र कुमार यादव र धनगढीमाई नगरपालिका वडा नं. १०, सिरहाका दिनेश कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार चेकजाँचको क्रममा पक्राउ परेकाहरूले प्रहरीमाथि अभद्र व्यवहार समेत गरेको छन् । पक्राउ परेकाहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । साथै भित्री नाकामा लागुऔषध ओसारपसार र सेवन नियन्त्रणका लागि अभियानलाई अझ सशक्त बनाइने जनाइएको छ ।
प्रहरीले स्थानीयवासी तथा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पनि सञ्चालन भइरहेको यस्तो गैरकानुनी गतिविधि रोक्न सहयोग गर्न अपिल गरेको छ ।
भिडियाे सामाग्री