विभिन्न आपराधिक मुद्दाका प्रतिवादी अशोक यादवले मन्त्रालयको गाडी दुरुपयोग गर्दै आएको खुलासा भएकाे छ ।
खानेपानी मन्त्रालयको नाममा दर्ता रहेको सरकारी सवारी साधन विभिन्न आपराधिक मुद्दाका प्रतिवादी तथा पक्राउ पुर्जी जारी भएकै व्यक्तिले प्रयोग गरिरहेको खुलासा भएको छ । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादवले मन्त्रालयको गाडी नियमविपरीत प्रयोग गर्दै आएकाे खुलेकाे छ ।
यादवविरुद्ध हाल १० वटा आपराधिक मुद्दा चलिरहेका छन् । तीमध्ये ८ वटा पुराना मुद्दा हुन् भने हालै २ नयाँ मुद्दा थपिएको प्रहरीले जनाएको छ । सर्लाही जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी अनुसार, यादवलाई आपराधिक उपद्रवमा संलग्न रहेको आरोपमा पक्राउ गर्न अदालतको अनुमति दिइएको हो ।
सरकारी गाडी प्रतिवादीको घरमै
खानेपानी मन्त्रालयको नाममा रहेको बा२झ २५४५ नम्बरको गाडी हाल यादवको सर्लाही, मलंगवास्थित निजी निवासमा रहेको पुष्टि भएको छ । स्रोतका अनुसार, खानेपानी मन्त्री प्रदीप यादव जसपाबाट मन्त्री बनेपछि पार्टीकै अर्का नेतासमेत रहेका अशोक यादवलाई गाडी हस्तान्तरण गरिएको हो ।
मन्त्रालयका स्टोर शाखा प्रमुख कमल ढुंगेलले पनि सो गाडी मन्त्रालयकै भएको पुष्टि गरेका छन् । "मन्त्रीको सचिवालयमा प्रयोग गर्ने भन्दै गाडी करिब डेढ महिनाअघि लगिएको हो," ढुंगेलले भने, "तर, गाडी अहिले कहाँ, कसले प्रयोग गरिरहेको छ भन्ने जानकारी मन्त्रालयसँग छैन ।"
देश टुक्र्याउने अभिव्यक्तिपछि विवादमा चुलिएका यादव
अशोक यादव पछिल्लो समय नेपालबाट मधेश अलग गर्नुपर्ने अभिव्यक्तिका कारण विवादमा मुछिएका छन् । उनको यस्तो अभिव्यक्तिले देशभर आलोचना उत्पन्न गराएको थियो । यसरी देशको एकता र अखण्डताको विरुद्धमा उत्रिएका व्यक्ति सरकारी सुविधा र स्रोत प्रयोग गरिरहेको देखिनु गम्भीर विषय बनेको छ ।
सरकारी स्रोतको गैरकानुनी प्रयोगप्रति प्रश्न
सरकारको नाममा दर्ता गरिएको गाडी कुनै पनि कानुनी जाँचविनै प्रतिवादीको घरमा पुग्नु, त्यो पनि पक्राउ पुर्जी जारी भएकै अवस्थामा, गम्भीर प्रशासनिक लापरवाही मानिएको छ । खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरू यथासमयमा न त निगरानीमा रहे न त स्पष्ट जवाफ दिनसकेका छन् ।
यस विषयमा मन्त्रालय र सम्बद्ध निकायबाट छानबिन सुरु गर्ने कि नगर्ने भन्ने विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । यसले सत्ताको पहुँचमा रहेका नेताहरूले राज्य संयन्त्रको प्रयोग कसरी व्यक्तिगत हितमा गर्दै आएका छन् भन्ने प्रश्न पुनः उठाएको छ ।
भिडियाे सामाग्री