बाराको बारागढी गाउँपालिका–३ सुन्दरपुरमा ऐलानी जग्गा विवादका कारण एक व्यक्तिमाथि कोदालो प्रहार गरी ज्यान मार्ने प्रयास भएको आरोपसहित सात जनाविरुद्ध उजुरी परेको छ ।
सुन्दरपुरका ४० वर्षीय नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानले जिल्ला प्रहरी कार्यालय, बारामा जाहेरी दर्ता गराउँदै आफ्ना आफन्तमाथि ज्यान मार्ने मनाेसायले प्रहार गरेकाे उजुरी दिएका छन् । उजुरी अनुसार २५ असार दिउँसो साढे १२ बजे रामएकवाल चौधरी २० वर्षदेखि जोतभोग गर्दै आएको ऐलानी जग्गामा पुग्दा बारागढी–३ नयाका टोलका ३० वर्षीय जमिल अख्तर मियाले सो जग्गा आफ्नो भएको दाबी गर्दै विवाद सुरु गरेका थिए ।
त्यसक्रममा जमिलले अन्यलाई बोलाएर घेरा हालेको र विवाद चर्किँदा ४१ वर्षीय शिवचन्द्र यादवले रामएकवालको टाउकोमा कोदालो प्रहार गरी ज्यान लिने प्रयास गरेको उल्लेख गरिएकाे छ । घटनामा रामएकवाल गम्भीर घाइते भई हाल काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत रहेका छन् । सो क्रममा उनका छोरा दिपेन्द्र चौधरीसमेत घाइते भएका थिए ।
जाहेरीमा बिहारी पण्डित (४७), गोरख पण्डित (४०), ओकिल मिया (६०), जमिल अख्तर मिया (३०), शिवचन्द्र यादव (४१), सलाउदिन मिया (३०) र अलाउदिन मिया (२५) काे नाम उल्लेख गरिएकाे छ । घटनामा संलग्न रहेकाे भन्दै उनिहरूलाइ तत्काल पक्राउ गरी कार्वाही गर्नुपर्ने उजुरीमा माग गरिएकाे छ ।
घाइतेका दाजु चन्देश्वर चौधरीका अनुसार रामएकवालको अवस्था चिन्ताजनक छ र आर्थिक अभावका कारण औषधि उपचारमा समेत कठिनाइ भइरहेको छ । "प्रहरीले प्रतिवादीहरूसँग दुई लाख रुपैयाँ उठाएर उपचारमा सहयोग गर्ने भनेको थियो तर अहिलेसम्म केही पाएको छैन," उनले गुनासो गरे, "उता संलग्न भनिएका प्रतिवादीहरू खुलेआम हिँडिरहेका छन्, प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन् ।"
भिडियाे सामाग्री