वीरगंज | विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी महोत्सव वीरगन्ज–१० स्थित घडिअर्वामा यस वर्ष पनि भव्य रूपमा मनाइने भएको छ ।
विगतका वर्षहरूमा झैं यस वर्ष पनि रामजानकी मन्दिर प्रांगणमा गणेश चतुर्थी महोत्सव मनाउने तयारी भएको छ । शनिबार बसेको स्थानीय भेलाले मदन प्रसाद कलवारको अध्यक्षतामा ३१ सदस्यीय महोत्सव व्यवस्थापन समिति गठन गरेको छ ।
समितिमा राकेश साह कानु उपाध्यक्ष, सन्तोष साह कानु र मनोहर साह कानु सचिव, प्रकाश सिंह कोषाध्यक्ष तथा दीलिप कानु, बैजु गुप्ता, राजेश सिंह, सुनिल दास, लालु साह कानु, मुकेश कलवार, गोपाल कानु, सचिन कुमार दारुका, डा. दीपक कुमार चौरसिया, सन्देश कानु, रवि सर्राफ, अरुण शर्मा, सुरेन्द्र साह कानु लगायत सदस्य रहेका छन् ।
यस वर्ष गणेश चतुर्थी महोत्सव आगामी भदौ ११ देखि १४ गतेसम्म मनाइने छ । आयोजनामा भव्य धार्मिक र सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ ।
स्थानीय भेलामा वीरगन्ज–१० का वडाध्यक्ष सुशील कुमार कानु स्वयं सहभागी थिए । उनले यसपालिको गणेश चतुर्थी महोत्सव विगतको भन्दा अझ भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको बताए ।
शास्त्रीय मान्यता अनुसार गणेश जन्मोत्सव
शास्त्रीय मान्यता अनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थी का दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा–अर्चना गरी गणेशको जन्मोत्सव मनाउने परम्परा छ ।
शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कार्यमा अग्रपूज्य अर्थात् सबैभन्दा पहिले पूजा गरिने देवताका रूपमा मानिन्छ। हरितालिका तीजको व्रत पारायणपछि गणेश व्रत गर्ने परम्परा छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन र शान्तिको कामना गर्दै चतुर्थीका दिन विघ्न नआओस् भन्ने कामनासहित गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ ।