काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) बाट पार्टी सदस्यता नपाए पनि कोठामै सीमित भएर बस्नुहुन्छ भन्ने विश्वास आफूलाई नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा केही पत्रकारहरूसँगको भेटमा नेता खनालले पूर्वराष्ट्रपति भण्डारीका बारेमा सार्वजनिक रुपमा भइरहेका विश्लेषणहरूप्रति असहमति जनाउँदै भने, “विद्या भण्डारी कोठामै सीमित हुनुभयो भन्ने विश्लेषणसँग म सहमत छैन । एउटा राजनीतिक मान्छेले म राजनीति गर्छु, सक्रिय हुन्छु भन्छ भने उसका लागि हजार बाटाहरू हुन्छन्। एउटा बाटो मात्र हुँदैन ।”
उनले नेकपा (एमाले) ले भण्डारीलाई पार्टी सदस्य बन्न नदिएर एक बाटो अवरुद्ध गरे पनि अरु धेरै राजनीतिक विकल्पहरू अझै बाँकी रहेको तर्क प्रस्तुत गरे। “बाटा थुप्रै रहन्छन्,” उनले भने ।