काठमाडौं | प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले निर्वाचनमा कहिल्यै अमर्यादित कार्य नगरेको दाबी गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले विगतका आफ्ना निर्वाचन अनुभव सुनाएका हुन् ।
कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो बन्दै गएको, कालोधन निर्वाचनमार्फत सेतो बनाउने माध्यम बनेको जस्ता तर्क प्रस्तुत गरेपछि प्रधानमन्त्री ओलीले त्यसप्रति आपत्ति जनाउँदै आफ्नो अनुभव साझा गरेका थिए ।
प्रधानमन्त्री ओलीले ०४८ सालमा पहिलो पटक झापाबाट लडेको संसदीय निर्वाचनको प्रसंग सुनाउँदै भने, "तब पार्टीले बाटो खर्चका लागि २ सय रुपैयाँ दिएको थियो, त्यसमा पनि २० रुपैयाँ बचाएर साथीहरूसँग चिया खाएको थिएँ ।"
उनका अनुसार त्यतिबेला पार्टीका महासचिव माधवकुमार नेपाल थिए र निर्वाचनका लागि आफूले ४३ हजार रुपैयाँ चन्दा उठाएको भए पनि केवल २१ हजार रुपैयाँ निर्वाचन खर्चमा लागेको थियो । बाँकी १२ हजार रुपैयाँ दुईजना कार्यकर्ताको उपचारमा खर्च भएको र १० हजार पार्टीको कोषमा बचत भएको ओलीको भनाइ छ ।
"बसको छतमा चढेर प्रचारमा हिँड्दा साथीहरू लडेर घाइते भएका थिए, उपचारमा १२ हजार खर्च भयो। बाँकी १० हजार पार्टीको खातामा जम्मा गरें," ओलीले सम्झिए ।
ओलीले आफू दुईपटक आम निर्वाचनमा नेपालभर सबैभन्दा बढी मत ल्याएर विजयी भएको स्मरण गर्दै भने, “कुनै अपफेयर नगरी, बुथ कब्जा नगरी, धम्की नदिई, अनुचित काम नगरी मैले निर्वाचन जितेको हुँ। धन र बलको प्रयोग बिना पनि स्वच्छ ढंगले चुनाव जित्न सकिन्छ भन्ने प्रमाण म नै हुँ ।”
सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण भइरहेकामा संकेत गर्दै उनले भने, “म यति भन्न सक्छु, यदि कसैले प्रमाणसहित देखाउन सक्छ कि मैले कुनै निर्वाचनमा बुथ कब्जा गरेँ वा नियम उल्लंघन गरेँ भने, म उत्तर दिन तयार छु। रिसमा आएर गाली गर्नु बेग्लै कुरा हो ।”