हेटौंडा | बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी पेस गरेका छन् । गठबन्धनले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियालाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्दै प्रदेश प्रमुखसमक्ष आधिकारिक रूपमा दाबी पेस गरेको हो ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामापछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न साउन २० गतेसम्म दाबी गर्न आह्वान गरेका थिए ।
यसै अनुसार, कांग्रेस संसदीय दलका ३७ र एमालेका २७ गरी कुल ६४ जना प्रदेशसभा सदस्यको समर्थनसहित कांग्रेस नेता बानियालाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गरिएको हो ।
दाबी पत्रमा उल्लेख गरिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियालाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गर्दछौं ।”
यसअघि मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १८ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो, जसअनुसार कांग्रेस–एमाले गठबन्धनले सरकारको नेतृत्व लिन पहल थालेको छ ।
