सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहन टोलमा जेठ २३ गते राति भएको लुटपाट तथा हत्या घटनामा संलग्न रहेका नौ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गरी सप्तरी, सिरहा र उदयपुरका विभिन्न स्थानबाट पक्राउ परेका अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।
गोली हानी कान्तलाल चौधरीको हत्या भएको यो घटनापछि करिब ४८ दिन लामो अनुसन्धानपछि आरोपीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ । घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सप्तरी र मधेश प्रदेश प्रहरीको समन्वयमा भएको हो ।
पक्राउ पर्ने अभियुक्तहरू यस्ता छन्:
-
सुरुङ्गा–८ : राजेश कुमार मरिक, संजय मरिक
-
बोदेबर्साइन–२ : दिपेन मरिक
-
खडक–११ : हरिकिसुन मरिक
-
शम्भुनाथ–८ : दिपक मरिक
-
सुरुङ्गा–७ : राजु कुमार विक
-
उदयपुर बेलका–१ : चन्दर मरिक
-
सिरहा लहान–६ : महेन्द्र गोड्से
-
लहान–८ : उमेश साह सोनार
प्रहरीका अनुसार अभियुक्तहरूले न केवल लुटपाट र हत्या गरेका थिए, उनीहरू लुटिएका सुनचाँदीका गरगहना बिक्री तथा गाल्ने अपराधमा समेत संलग्न रहेको खुलासा भएको छ । अनुसन्धानका क्रममा प्रहरी टोलीले लुटिएका गरगहना, नगद तथा हत्यामा प्रयोग गरिएको हतियारसमेत बरामद गरेको जनाएको छ ।
मृतक चौधरीले प्रतिकार गर्दै “तिमीहरूलाई चिनेको छु” भनेपछि समूहले गोली प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी गौतम कुमार केसीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीले मधेश प्रदेशमा अन्य प्रदेशहरूभन्दा बढी हत्या हुने घटना भइरहेको भन्दै पछिल्लो समय आपराधिक गतिविधिमा वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरे ।
फोटो किन सार्वजनिक भएन?
अभियुक्तहरूको तस्बिर सार्वजनिक नगर्न केन्द्रीय निर्देशन आएको कारण तस्बिर नदेखाइएको प्रहरीले जनाएको छ ।